साँघुरो गल्लीमा एउटा टर्चलाइट चोक छ । त्यो चोकमा सबथोक छ । व्यानरमा लेखिएको छ, यहाँ संसार चियाउने टर्च लाइट पाइन्छ । घामै नछिर्ने त्यो चोकमा मान्छेहरुको भीड छ । टर्च लाइटहरु गल्लीको दायाँ बायाँ भित्तामा झुण्ड्याइएका छन् । व्यस्त त्यो चोकमा टर्चलाइटहरुको मोलतोल भइरहेको छ । मलाई पनि एउटा टर्चलाइट किन्ने मन छ ।
अनि तपाईलाई पनि लोडसेडिङ हुँदा बाल्नको लागि टर्चलाइटको आवश्यकता छ । यहाँ पाइने टर्चलाइटहरु आधुनिक प्रविधिबाट निर्मित भएकाले अत्यन्त जादुमयी एवम् शक्तिशाली छन् । यहाँका हरेक टर्चलाइटमा फरक फरक विशेषताहरु छन् । जसले निर्माणकर्ताको इच्छानुसार सत्यताको बाटो देखाउने परिभाषा दिन्छ ।तिनिहरुलाई चिन्न विभिन्न किसिमका स्टिकरहरु ताँसिएका छन् । नेपालका एक नम्बरी कम्युनिस्टहरुले यही चोकमा टर्च किनेका अरे । नपत्याए नेपाली कम्युनिस्ट भनाउँदाहरुले बोक्ने त्यो टर्चको स्टिकरमा हेर्नुस् । भारतीय प्रेसमा छापेको स्टिकर अझै बाँकी हुन सक्छ । त्यहाँ ट्याग त एंगेल्स, माक्र्स, लेलिन र माओत्सेतुङको छ, तर मुनि लेखिएको हुन्छ, भारतमा बनेको । त्यो टर्च लाइट यति शक्तिशाली छ कि यसले अँध्यारो कोठामा बाल्दा पनि ब्रम्हाण्ड देखाउँछ, जहाँ भारतीय स्याटेलाइटहरु पृथ्वीको परिक्रमा गरिरहेका देखिन्छन् ।
त्यसैले त्यो टर्चलाइट बोक्ने जो कोहिले पनि राम राज्यको मात्र चर्चा गर्छन् । कोही नेहरुको डक्ट्रिनलाई सम्मान गर्दै उसकै इच्छामा नाच्छन् । हरेक रात नेपाली राजनेता बालुवाटारबाट त्यो टर्च लाइट बालेर लैेनचौर जान्छन् । अनि तराइ डुबाई विहारीलाई सिञ्चाइ गराउन बाँध बनाउँछन्, सस्तोमा भारतलाई बिजुली बेच्न पावर प्लान्ट बनाउँछन् । सुस्ता, कालापानी, लिपुलेक, लिम्पियाधुरा सबै भारत बनाउँछन् । बुद्धलाई भारतिय बनाउने षडयन्त्र गराउँछन् । जनतालाई झुक्याउन नयाँ नेपालको सपना देखाउँछन् । व्यवहारमा भने देशको सार्वभौमसत्तालाई भालु बनाई विहारी चटकेको इसारामा नचाउँछन् । मलाई त्यो टर्चलाइट र बोक्ने मान्छेदखि घृणा लाग्छ ।
त्यही चोकमा अर्को टर्च लाइट पनि छ । जसको बल्ब अमेरिकामा बनेको छ । अनि ब्याट्री भारतमै बनेको छ । त्यो टर्च लाइटको भित्र र बाहिर बेग्ला बेग्लै स्टिकरहरु छन् । बाहिरको स्टिकरमा अमेरिकन टर्च टिप लेखिएको छ भने भित्रको स्टिकरमा भारतिय कम्पनी सियस्काको लोगो छ । त्यो टर्च लाइट किन्नेहरुमा संसारकै सबैभन्दा बढी प्रजातन्त्रवादीहरु छन् । केहि नेपाली प्रजातन्त्रका हिमायतीहरुले त्यो टर्चलाइट बोकेर राती महाराजगञ्जको महाराजलाई भेटेर मध्य रातमा लैनचौरमा डिनर गर्न जान्छन् । उनीहरु नेपाल मात्र नभई संसारभर प्रजातन्त्रको वकालत गर्छन् । अनि गान्धी र मार्टिन लुथार किङको सपना आफ्नो जस्तो गरेर चिच्याउँछन् । आफू भने आन्तरिक प्रजातन्त्रमा विश्वास गर्दैनन् । बरु जर्मनी हिटलर र इजरायली यहुदीको कथा दोहोर्याउँछन् । उनीहरुलाई इजरायलले निर्दोष प्यालेस्टाइनी मार्दा प्रजातन्त्रको वासना आउँछ । उनीहरुलाई पसिनादेखि यलर्जी लागेर होला पसिना बगाउने पढेलेखेका युवालाई युरोप र अर्ध दक्ष युवा जति खाडी पठाउँछन् । अनि कसैलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछन् । राष्ट्रिय मेलमिलापको मन्त्र बोकी ए.सी. सहितको बंगलामा प्रजातान्त्रिक समाजवादको अभ्यास गर्छन् । मलाई यो टर्चलाइट पनि मन पर्दैन । किनकी यसमा बाखा्र, सुन, लाओडा आदि गन्हाउँछ ।
अँध्यारो कोठाको चारै भित्ता देखिने अरु थुप्रै टर्चलाइटहरु चोकमा बिक्रीमा राखिएका छन् । एउटा टर्च लाइट यस्तोे छ । जसमा स्टिकर उप्काइएको छ । टर्च लाइट बाल्ने बितिकै घण्टी बज्छ । त्यो घण्टीको आवाजले देश विदेशका देवी देवताहरु खुशीले पागल हुन्छन् । फरक भनेको त्यो टर्चलाइटले परको देखाउँछ, वरको देखाउँदैन । अझ आफू बसेको ठाउँ त बिलकुलै देखाउँदेैन । त्यो टर्च लाइट किनेरै नेपालमा सत्ताको घण्टी बजाउने धेरै छन् ।
कुनै कुनै टर्चलाइटले बोक्ने मान्छेलाई धर्मको नाममा आस्थाको व्यापार गर्न सिकाउँछन् । कुनैले बुद्धलाई मुर्तिमा सिमित गरी मूर्तिपूजा गर्न सिकाउँछन् । कुनैले लोभ लालच र भ्रममा पारेर धर्म परिवर्तन गर्न सिकाउँछन् । मलाई त्यस्तो टर्चलाइट पनि चाहिएको छैन ।
कुनै टर्चलाइटहरु हिमाल चढेर आएका छन् । कुनै समुद्र पारिबाट आएका छन् । त्यो चोकमा बिश्वका सबै ठाउँबाट बेच्न ल्याइएका टर्च लाइटहरु छन् । कुनै टर्च लाइट बोक्ने बितिकै नेता पनि साहित्यकार बन्छन्, सिग्मण्ड फ्रायदको चेला भएर सुम्निमालाई नङ्ग्याउँछन् । कुनै टर्च लाइट बोक्ने बितिकै पुरुष पनि महिला राज्यको माग गर्न थाल्छन् । अनि मौका छोपेर निर्मला काण्ड मच्चाउँछन् । भाषणमा भने सडकदेखि सत्तासम्म महिला र पुरुषबीच संसार बाँडिनुपर्ने वकालत गर्छन् ।
कुनै टर्च लाइट किन्ने बितिकै कोही युवा अफ्रिकी अमेरिकन र्याप गर्न थाल्छन् । सिन्का भाँचेको खबरलाई अलंकापुरी बनाएको गफ हाँक्छन् । अलंकापुरीको कथा सुनेको भरमा आफैले बनाएको दाबी गर्छन् । टर्चलाइटहरु पनि अलादिनको चिरागजस्तो अजीब किसिमका छन् ।
कुनै कुनै टर्च लाइट त यति शक्तिशाली छन् कि देखि जंगबहादुरको भूत दिउँसै देखाउन खोज्छन् । अनि राजतन्त्रको भूतलाई सडकमा नचाउँछन् । म भने टर्च लाइटहरुको परीक्षण कक्षमा छु । थोरै मात्र टर्च लाइटहरुले यथार्थ कुरा देखाएका छन् । जसले बहुसंख्यक जनताको भान्सामा चुल्हो बले नबलेको दृश्य देखाउँछन् । अफसोच त्यो चोकमा मैले खोजेको टर्चलाइट नै छैन । त्यहाँ त मान्छे छक्याउने विदेशी ब्रान्डका टर्च लाइटहरु मात्र छन् । जसको महंगा ब्याट्र्री विदेशबाटै मगाइन्छ । विदेशी ब्रान्डमा समस्या भन्दा पनि छलकपट, जालझेल, षडयन्त्र, दुराचार गर्न उक्साउने टर्चलाइट नै समस्या हुन् ।
किनकी त्यहाँ कुमालेले बनाएको माटोको दियो छैन, न त तेल राखेर बाल्ने पानस नै छ । टर्च लाइटहरुको झिलिमिलीले आँखाहरु मात्र दिग्भ्रमित छन् । थुप्रै टर्चहरुको परीक्षण पछि म भने टर्च लाइट नै नकिनी फर्केँ । त्यहाँ विदेशी ब्याट्री मात्र गन्हाउँछ । स्वदेशमै बनेको बत्ती भए सायद यति साह्रो गन्हाउदैनथ्यो कि जस्तो लाग्छ । मलाई त यस्तो टर्चलाइट चाहिएको छ, जसले यी सबै टर्चलाइटले सिर्जना गरेको भ्रमलाई चिर्न सकियोस् । एउटा यस्तो टर्चलाइट चाहेको छु, जसले साँचो अर्थमा अँध्यारोलाई चिरेर बहुसंख्यक जनतालाई प्रगतिको बाटो देखाउन सकोस् । (सर्वाधिकार लेखकमा)