निर्विचार रुखो मन
शान्त छ आज
परिवर्तनको
पदचापको पर्खाइमा
भत्किएका
पर्खालहरू नियाल्दै
उजाडिएको त्यो
निर्जन बस्ती हेर्दै
मनमा ताप र राप लिएर
असन्तुष्टिका
अश्रुविन्दु पिएर
सोध्नुपर्ने
अधुरा सवालहरू
साथमा लिएर ।
स्मृतिहरू ताजै छन्
पुराना पलहरू
आलै छन्
कहिलेकाहीँ विगतको
सम्पन्नताले सजिएको
हाँसोको आवाज
गुञ्जायमान हुन्छ
मेरो मौनता भित्र ।
चर्किएका ढुंगाले
गुनगुनाउँछन्
पहिले तिमी यहाँ
हाँसेका थियौ
पर्खालहरूले
सम्झाउँछन्
पहिले तिमी यहाँ
नाचेका थियौ
अब म
खण्डहरलाई प्रश्न गर्छु
बाँचेको जीवनको
हर कदमको डोब
अझसम्म
सँगालेर राखेका थियौ ?
ताजै छन्
अलिकति बिछोडका पीडा
अलिकति सम्झनाका कुरा
सत्परिर्तन
फर्कने सपना जारी नै छ
यो उराठ क्षणमा पनि
आशाको किरण बाँकी नै छ ।
खुसीको अनुपस्थितिले
बनेको
‘निष्प्रभ’ भित्रको खण्डहर
समयको हावाले उडाओस्
जीवनको त्यो रंगीन पहर
खुसीको त्यो मृदु लहर
बिहानको सूर्यको लालिमाझैँ
अनायास नै उदाओस् ।