ताजा अपडेट

ट्रेन्डिङ

लघुकथा: प्रभ्रष्ट

Gyan Khabar

अम्बिका धिताल

१ असोज २०८१, मङ्गलबार
658 पटक हेरिएको
लघुकथा: प्रभ्रष्ट

“महाराज उहाँहरू हजुरको दर्शन गर्न आउनुभएको छ।” केही महिना देखि राज्य सञ्चालन गर्दै आएको स्याललाई उसको द्वारपालले भन्यो ।

“ए ! हो र ? कस्ता पहिरन लगाएका छन् उनीहरुले ?” सशङ्कित हुँदै स्यालले प्रश्न गर्‍यो ।

द्वारपालले सोच्दै भन्यो,“खै महाराज कस्तो भन्ने ? हल्का सेतो, हल्का कालो, खैरो यस्तै यस्तै लगाएका छन् छ्यासमिसे ।”

लगलग गोडा कमाउँदै स्यालले भन्यो, “लठ्ठी , तरबार के बोकेका छन् नि !”

उसले उत्तर दियो “त्यस्तो केही छैन एउटा झोला बोकेका छन् महाराज !”

ढोकेको उत्तरले स्याललाई सान्त्वना मिल्यो तर पनि उसले ढिकेलाई भन्यो , “म बैठकमा व्यस्त छु। भेट्नै पर्ने भए दुई घण्टापछि भन्दे ।”

ढोकेले प्रतीक्षा कक्षमा गएर सूचना सम्प्रेषण गर्दै भन्यो, “उहाँ व्यस्त हुनुहुन्छ बैठकमा । भेट्नै पर्ने छ भने दुई घण्टापछि भेट्नु अरे।”

प्रतीक्षार्थी मध्येको एकले भन्यो “बल्लतल्ल नाका कटाएको यो रत्न अब कहाँ राख्ने त ? अब उहाँसँग तोडिने भयो सम्बन्ध । हामीलाई ब्वासोहरुले लखेट्दैछन् । त्यसोभए बाघको ओडारतिर लागौँ त्यहाँबाट पनि थोरै कमिसन त पाइन्छ ।”

हत्त न पत्त भित्रबाट स्यालको ठूलो आवाज आयो, “तपाईँहरु भक्षक नभई रक्षक पो! खै कहाँ छ पोको ? आउनुहोस् भित्र।”