सूर्यविनायक, भक्तपुरस्थित ए.जे. स्कुलले राष्ट्रिय वाल दिबस २०८१ को अवसरमा विद्यालय स्तरीय खुल्ला लोक नृत्य संग्राम गर्ने घोषणा गरेको छ ।
मौलिक कला संस्कृतिको संरक्षण र सांस्कृतिक रुपान्तरण सहित लोक नृत्य तथा सांस्कृतिक भेषभुसालाई नयापुस्ता माझ फरक तरिकावाट आत्मसात गराउने उद्देश्यले अभिप्रेरित यो संग्राममा प्रतियोगिहरुले कुनै पनि लोक भाका/गीतमा एकल लोक नृत्य प्रस्तुत गर्न पर्नेछ । यो ढाँचा अनुसार प्रतियोगिहरुले पूर्ण रूपमा लोकभाकामा सांस्कृतिक भेषभुषामा लोक नृत्य मात्र गर्नुपर्ने छ भने आधुनिक नृत्य गर्ने नपाईने जनाएको छ ।
यो संग्राम भाद्र २८ गते शुक्रवारको दिन सुर्यविनायक, पाण्डुवजार स्थित ए.जे. स्कुलको प्रंगणमा आयोजना गरिनेछ । यो संग्राम कुनै पनि विद्यालयवाट कक्षा १० (दश) सम्म अध्ययनरत नृत्य प्रेमी छात्रछात्राहरूका लागि खुला गरिएको र यसले प्रतिभाशाली नृत्य कलाकारहरूलाई आफ्नो कला/कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्ने विश्वास विद्यालयले लिएको छ ।
प्रतियोगिता २ चरणमा हुनेछ । प्रथम चरणमा सहभागीहरुलाई आ—आफ्नो खुबी देखाउन ४० सेकेण्डको मौका दिइनेछ र त्यसबाट छनौट भएका प्रतियोगीहरुलाई मात्रै संग्राम (Battle) मा समावेश गराइने छ । दुवै चरणमा आयोजकले उपलब्ध गराएको गीतमा प्रतियोगीहरुले पालैपालो आ—आफ्नो कला/ नृत्य प्रस्तुत गर्नुपर्नेछ । विजेताहरूलाई नगद पुरस्कार, प्रमाणपत्र, ट्रफी र गिफ्ट हाय्म्परको व्यवस्था गरिएको छ । प्रतियोगितामा भाग लिन इच्छुक छात्रछत्राहरूले विद्यालयको आफ्नो परिचय-पत्र र विद्यालयको आधिकारीक चिठी सहित प्रति व्यक्ति रू ५०० दर्ता शुल्क बुझाई संग्राममा भाग लिन सक्नेछ ।
ए.जे. विद्यालय परिवार सबैलाई यो प्रतियोगितामा सहभागी हुन र नृत्यको परम्परागत शैली र आधुनिक शैली वीचको संगम हेर्न सम्पूर्णमा हार्दिक आमन्त्रण गरेको छ । कार्यक्रमको बारेमा थप जानकारी विद्यालयको बेव साईट, फेशबुक पेज लगायत विद्यालय प्रशासनवाट फोनमार्फत प्राप्त गर्न सकिनेछ ।