ताजा अपडेट

ट्रेन्डिङ

नैतिकवान् जनशक्तिको लागि शिक्षाशास्त्रलाई सबल बनाऔं

Gyan Khabar

ज्ञानखबर

२८ भदौ २०८१, शुक्रबार
410 पटक हेरिएको
नैतिकवान् जनशक्तिको लागि शिक्षाशास्त्रलाई सबल बनाऔं

शिक्षक गरिमामय र आदर्श शब्द हो । जसले समाज र राष्ट्रमा आफ्नो छुट्टै मर्यादा कायम गरेको हुन्छ । हिजोआज जोकोही पनि शिक्षक हुने गलत प्रवृत्तिको कारण शिक्षण पेसामै प्रश्न चिन्ह उठ्न थालेको छ ।

तीन शब्दको शिक्षकको शाब्दिक अर्थ सिकाउनु हो भने त्यसको व्यापक अर्थको रूपमा विश्व ब्रम्हाण्डका घटना र परिवर्तन बारे सिकारु लगायत अन्य ज्ञानको कमी भएकाहरुलाई सिकाउने व्यक्तित्व शिक्षक हो ।

शिक्षकले विद्यार्थीलाई नैतिकताको पाठ सिकाएर समाज र राष्ट्रको हितको लागि व्यवहारिक रूपमा नीति निर्माण तर्फ अग्रसर गराउन सहयोग गर्दछ । सोही माध्यमबाट सिद्धान्तरूपी नीति सबै मानव हितको लागि बन्ने गर्दछ ।

देश र समाजलाई बुद्धिजीवी सहित नैतिकवान डाक्टर, वकिल, इन्जिनियर, पाइलट लगायत देश र जनताको सेवाको लागि अन्य पेसाकर्मी जनशक्तिको उत्पादन गर्न शिक्षकको अहम् भूमिका रहन्छ । राज्य संचालनको क्रममा सरकारले आवश्यक जनशक्तिको तथ्यांक निकालेर सेवा क्षेत्रको बजारमा आवश्यक जनशक्ति उत्पादन र निर्माणको दायित्व शिक्षकलाई दिइएको हुन्छ ।

सोही क्रममा अनुशासित र नैतिकवान नागरिक तथा हरेक प्रकारको दक्ष योग्य जनशक्ति निर्माण र उत्पादनको लागि शिक्षक बन्न आवश्यक विषय वा अध्ययन क्षेत्रको रूपमा शिक्षाशास्त्र अथवा शिक्षाक्षेत्र अध्ययन आवश्यक छ । सोको न्यूनतम योग्यता हासिल गरि योग्य र दक्ष भएपछि शिक्षक बन्ने बनाउने नीति विगतमा थियो । जसबाट देश र जनताको सेवाको लागि आवश्यक जनशक्तिको आवश्यकताअनुसार सेवा र वस्तुको उत्पादन तथा निर्माण हुन्थ्यो ।

जबदेखि शिक्षाक्षेत्रमा वैदेशिक सहयोग र अनुदान पाउन थाल्यो तबदेखि जुन विषय अध्ययन गरेकाले पनि शिक्षक हुन पाउने नीति बन्यो । जसले गर्दा नेपालको शिक्षा नेपाली माटो अनुकूल भन्दा पनि विदेशी देशको लागि सस्तो ज्यामी वा मजदुरको रूपमा जनशक्ति उत्पादन र निर्माण हुँदै आएको हो ।

फलस्वरूप आज व्यवस्था परिवर्तन भए तापनि नेपालमा उच्च शिक्षा हासिल गर्ने र देशको सेवा गर्ने भावना नयाँ पुस्ताको नभएको भाष्य सिर्जना भएको छ । जसले गर्दा नेपालको माटो नछुने प्रवृत्तिको जनशक्तिले जस्तोसुकै परिस्थितिमा पनि विदेशमा रगत र पसिना बगाउन लालायित भएको छ ।

साथै शिक्षाक्षेत्रका उत्पादित जनशक्तिलाई शिक्षकको रूपमा नियुक्ति गर्ने भन्दा पनि अन्य विषयको अध्ययनपछि कतै काम नभएको अवस्थामा अन्तिम विकल्प र समय व्यतीत गर्ने नाउँमा आफन्त, आसेपासे, शक्तिको आडमा भनसुन गरेर अनैतिक रूपले शिक्षक बन्ने बनाउने परिपाटी रहेको छ । जुन संस्कारको रूपमा रहँदा देशको शिक्षा नीतिलाई सोही अनुरुप ध्वस्त बनाएर आफ्नो नैतिकता शिक्षक बनेर प्रस्तुत गर्ने जमर्को पनि छ । र तिनै शिक्षकले विद्यार्थीहरूलाई अनुशासन र नैतिकता तथा देशभक्तिको पाठ सिकाउन खोज्नु कतिको जायज छ ?

शिक्षाशास्त्र वा शिक्षाक्षेत्र अध्ययन गरेर देश र जनताको सेवा गर्ने पहिलो तथा अन्तिम विकल्प वा अधिकारलाई हनन गरेर अन्य विषयकालाई बढी महत्त्व दिएर शिक्षक नियुक्ति गर्ने शिक्षाविद् तथा शिक्षासेवीले कस्तो विवेक प्रयोग गरेको हो ? यसबाट शिक्षाशास्त्रका उत्पादनमाथि अन्याय र विभेद गरेर बढी मारमा पारेको छ ।

साथै शिक्षक महासंघ लगायत विभिन्न नामधारी शिक्षक संगठनले समेत पेसागत सुरक्षाको लागि सरकारलाई आफ्नो अनुकूल नीति योजना बनाउन दबाब दिँदा शिक्षाशास्त्रको उत्पादनप्रति चरम अन्याय र भएको छ ।

यसर्थ, तथ्यपरक योजना सहित शिक्षक उत्पादनको क्षेत्र शिक्षाशास्त्रलाई सबल र बलियो बनाई देशभक्त, नैतिकवान नागरिक वा सक्षम जनशक्ति उत्पादनको लागि अदालत वा शिक्षा मन्त्रालयबाट विशेष पहल गर्न सम्पूर्ण बुद्धिजीवी, शिक्षासेवी र शिक्षाविद् अग्रसर हुनुपर्छ ।