जेलबाट छुट्टेको धेरै भएको थिएन । जब इन्टरनेटमा अनामिकाको नाममा मेरो कथा प्रकाशित भयो, खबर कानमा पुगिहाल्यो र म कथाले स्तब्ध भएँ । मेरो अनुमति बेगर मेरो जीवनको भोगाइ सामाजिक सञ्जालमा छरस्पष्ट पारिएको रहेछ । कथाकारसँग थोरै रिस त उठेको छ तर मेरो कुनै गुनासो पनि छैन । मैले व्यक्त गर्न नसकेको कथा व्यक्त गरी दिएकोमा मेरो तर्फबाट कथाकारज्यूलाई धेरै धेरै धन्यवाद् । हजुरले राखिदिनुभएको अनामिका नामलाई स्विकार्दै यो कथा हजुरले लेखिदिनु हुनेछ भन्ने आशामा आफ्ना कुरा राख्दैछु ।
म पढेलेखेको अनामिका, हिजोको किताबी किरो आज किताबी ज्ञानले काम नगरेपछि ज्योतिषको पञ्जामा परेको छु । एक महिनादेखि नै शुभेच्छुक साथीको सल्लाहमा समय मिलाएको छु । ज्योतिषको नाम थाहा छैन, उहाँ बस्ने गाउँ पनि थाहा छैन । हिजो शुक्रबार मात्र मेसेन्जरमा कुरा भएको थियो । मैले फ्रेण्ड रिक्वेस्ट पठाएको एक घण्टापछि उताबाट फ्रेण्ड कम्फर्म भएको मोबाइलको नोटिफिेकेसन आयो ।
नमस्कार, भोलि म हजुरलाई भेट्न हजुरको घरमा आउँदैछु । मैले च्याट गर्दै मेसेन्जरमा लेखेँ ।
उताबाट खबर आयो, तपाईको परिचय ?
मैले लेखेँ, म अनामिका ।
तपाईलाई स्वागत छ । भन्नुहोस्, तपाईलाई के सेवा गर्न सक्छु ? मैले थप टाइप नगर्दै ज्योतिषले व्यवसायिक भाषामा फेरी लेखे, भोलि तपाईको लागि विशेष समय मिलाएको छु । अरु ग्राहकको लागि भोलि समय छुट्याएको छैन । कृपया समयमै आउनुहोला ।
ज्योतिषले मलाई चिन्नुभयो वा भएन थाहा भएन । तापनि मैले उहाँको ठेगाना मागेँ । उताबाट लिङ्क आइपुग्यो । लिङ्क खोल्दै गुगल म्यापमा हेरेँ । ज्योतिष बा र मेरो दूरी केवल १८ कि.मी. रहेछ । मन शान्त भयो । भोलिपल्ट म पक्कै पनि समयमै पुग्नेछु ।
कहिल्यै ज्योतिषमा विश्वास नगर्ने म एकाएक यसको पछाडि किन लागेँ त ?
प्रहरीले मेरो कथा सुनेपछि म आफैँ पिडित भएको भन्ने ठानेर मलाई जेलबाट मुक्त गरिदिए । मेरो अनपेक्षित रिहाइले म झन घायल भएँ । अब त आफ्नो घर मात्र होइन, बहालमा लिएको कोठामा पनि जाने आँट भएन । कुमारी आमाको तक्मा त छँदेै थियो । शिशु फालेको खबरले मेरो बाँकी इज्जत पनि लिलाम भयो ।
कथाकारज्यू, अनामिकाको कथा त लेख्नुभयो, तर त्यस कथाको मुख्य पात्र जेल पुगेपछि के भयो ? भन्ने चाहिँ लेख्नुभएन ।
मेरो लागि घरको ढोका बन्द थियो । आमाले मलाई बाँचुञ्जेल घर आउन नदिने अठोट लिनु भएको थियो । आफ्नै आमाले त नबुझेको अवस्थामा घरका अरु सदस्यले बुझ्ने त कुरै भएन । भाइले नयाँ बुहारी भित्राइसकेछ । त्यसपछि त घरको ढोका अब कहिल्यै नखुल्ने जस्तो लाग्यो। यो मेरो भ्रम मात्र पनि होस् भन्ने कामना मात्र बाँकी रह्यो । मसँग अरु विकल्प थिएन ।
त्यसैले नभित्राउने थाहा पाइकन पनि आफ्नै घरमा फर्कन चाहेँ । नवजात शिशुलाई लिएर बहाल कोठामा बस्ने हिम्मत थिएन । जेलबाट छुटेर सिधै घरमा गएँ । घरको झ्यालबाट भाइले परैदेखि मलाई हेरिरहेका थिए । ऊ रिसले मुर्मुरिएको प्रस्ट देखिन्थ्यो । जसै घरको मूल ढोकामा पुगेँ, घरको ढोका बन्द थियो । मैले भाइलाई तलबाट बोलाएँ । अहँ, भाइले ढोका खोल्न आएन । बरु मन नै छिया छिया हुने गरी अश्लिल शब्दको बगैँचाबाट फूलले हानिरहे । म भाइको मनोभावलाई बुझ्न सक्थेँ । हुन त आफ्नै दिदिले विवाह नै नगरी कुमारी आमा बनेको खबरले परिवार मर्माहट हुनु स्वभाविक नै हो । तीन महिने शिशुलाई लिएर मसँग जाने ठाउँ नि थिएन ।
आमा बजार जानुभएको रहेछ । साँझ मात्र आमा घर फर्कनुभयो । आमाको हातमा तरकारीको झोला थियो । आमाले मलाई देखे पनि नदेखेझै गरी घरको ढोका खोलेर भित्र जानुभयो । म पनि नानीलाई बोकेर उहाँकै पछि लाग्न खोजेँ । विदम्बना, ढोका बेस्सरी ड्याम्म लाग्यो । आमा रिसाउनु हुँदा कहिल्यै बोल्नु हुन्थेन । अनि आमा रिसाएपछि बुबाको पनि केहि सीप लाग्दैनथ्यो ।
मैले सयौँ चोटि बोलाएँ, आमा ढोका खोल्नुहोस् न । बुबा ढोका खोल्नुहोस् न । भाइ ढोका खोल्देऊ न । बोलाउँदा बोलाउँदा स्वर सुक्यो । तर ढोका खोलिएन । म ढोकामै बसेर सुकसुकाउन थालेँ । आँसुुले हातमा रहेको नानीको अनुहार पनि नराम्ररी भिज्यो । निमोनिया हुने डरले पछ्यौरीले आँसु पुछेँ ।
तर आँसुको खोला रोेक्नै मानेन ।
किनकी मनमा रहेको वेदना नदिझै थुनिएको थियो । मैले व्यक्त गर्न सकिरहेकै थिएन । मेरो आँसुको बाँध फुटेको देखेर छिमेकीहरु पनि हेर्न आए । तर मलाई सहानूभूति दिने कोहि थिएन । उनीहरुको नमीठो टिकाटिप्पणी म सम्झिन चाहन्नँ । त्रेतायुगमा सीताले अग्नि परीक्षा दिनु पर्ने देशमा म कलियुगकी कुमारी आमालाई साथ दिन को आउँथ्यो र ? म असहाय भई रोइरहेँ । तैपनि मनमा आशाको त्यान्द्रो बाँकी नै थियो ।
आँसुले छोपेका मेरा आँखाहरुले समय बितेको चालै पाएनन् । जब चिसो र भोकले नानी रुन लागी, तब मात्र चाल पाएँ । रातको एघार बजिसकेछ । मेरा अगाडि कोहि छिमेकी पनि बाँकी थिएनन् । सडक सुनसान थियो । सडक छेउमा एउटा पोथी कुकुर आफ्ना छाउराहरु बटुलेर सुत्न तरखर गर्दै थियो । मेरो सँुकसुँक र नानीको रुवाइले त्यो कुकुर बेला बेलामा ब्युँझन्थ्यो र टाउको उठाएर मतिर हेर्ने गथ्र्यो । म छोरीको मुखमा दुध कोच्याउँदै थमथमाउँथेँ । अनि त्यो कुकुरलाई हेर्थेँ । हामी दुई बीच एक किसिमको समानता थियो । हामी दुईको संसारमा अरु कोहि थिएन । आकाशका ताराहरु आफन्त बनेर हेरिरहन्थे । अनि चन्द्रमाले आमा बनेर छहारी दिइरहन्थे । सडकमा कसैको हिडाइले उसको आँखा खुल्थ्यो । म डरले थुरथुर काम्थेँ । तापनि त्यो कुकुर मेरै सहपाठी जस्तो लाग्यो ।
चिसो बढ्न लागेपछि आफ्नो पछ्यौरीले नानीलाई राम्ररी बेरेँ । अनि नानीलाई अँगालो हालेर सुँकसुकाइरहेँ रातभर ।
मध्य रातमा शरीरमा न्यानो महसुस भयो । कसैले मेरो शरीरमा छोएजस्तो लाग्यो । डराएर आँखा खोलेँ । नयाँ बुहारी रै’छ । खास्तो ओढाएर मलाई लिन आएकी थिइन् । केहि नबोली उसको पछि लागेँ । कलियुगमा पनि द्रौपदिको रक्षा गर्न कृष्ण बनेर बुहारी आएकोमा मनमनै भगवानलाई धन्यवाद दिएँ ।
कोठामा पुग्दा सबैजना सुतिसकेका थिए । पल्लो कोठामा आमाको सँुकसुँक बाँकी नै थियो । बुहारीको पनि आँखा आँसुले भिजेको थियो । बुहारीले नानीलाई कोखमा लिइन् र म्वाइ खाइन् । अनि भान्सामा गई थोरै दुध तताएर ल्याइन् । अनि मनतातो बनाएर चुस्ने बोटलमा राखी छोरीलाई दुध खुवाइन् । बुहारीले मौनता चिर्दै भनिन् , दिदी, खाना त बाँकी छैन । अलिकति खाना बसालूँ कि ।
मैले बोल्नै सकिनँ । मेरो प्यारो भाइले छानेको बुहारी त राम्रै लाग्यो । रुप मात्र रामो होइन, व्यवहार पनि उस्तै । दिउँसो मेरो रिहाइले खुशी भएकी बुहारी सासु, ससुरा र श्रीमानको डरले ढोका खोल्न नसकेको उनकै मुखबाट सुनेँ ।
म थाकिसकेको थिएँ । कहिल्यै सुतेछु, चाल नै पाइनँ । जब आँखा खोलेँ, बिहान भइसकेछ । बुहारीले चिया ल्याइन् र मसँगै बसिन् । म चाहिँ नानी बुहारीलाई सुम्पी फ्रेस हुन गएँ । फर्कदा नानीले सुसु गरेकी रहिछे । बुहारी छोरीको लुगा फेदैँ थिइन् । यतिकैमा बुहारीले भनिन् , मैले हजुरको कथा अनलाइनमा पढेँ । सुरुमा त तपाईको कथा भन्ने थाहा भएन, नानीको चर्चाले थाहा भयो । तर घरमा कसैले मेरो कुरा खाँदैन । आमालाई पनि तपाइले ढाँटेको भन्ने लागेको छ । हजुरको भाइको त कुरा नै नगरौँ । म सम्झाउँला । समयले सबै ठिक पार्छ ।
बिहानको नौ बजिसकेको थियो । भाइ केहि नबोली काममा गए । बुबा पनि केहि नबोली बाहिर निस्के । बुहारीले खाना खान बोलाइन् । आमाले मनतातो तोरीको तेल लिएर आउनुभयो र नानीलाई कोखमा लिई कौसीमा जानुभयो । खाना खाएर कौसीमा जाँदा आमा नानीसँग खेल्दै हुनु हुन्थ्यो । आमाले छोरीको जीउमा तोरीको तेल लगाइदिनुभयो । अनि बुहारीले मलाई ।
हामीबीच बिना संवाद यसैगरी केहि हप्ता बिते ।
बुहारी बाहेक कसैले मसँग एक शब्द बोल्नुभएन । म झन् भित्रभित्र जल्न लागेँ । खुकुरीको चोट देखिन्छ, औषधी लगाउन सकिन्छ तर मनमा लागेको घाउ न देखिन्छ, न त उपचार नै गर्न सकिन्छ । म घर परिवारलाई बोल्न चाहन्थेँ । अनि उनीहरुले मेरो बारे सोधे हुन्थ्यो जस्तो लाग्थ्यो । तर मौनताको डोरीले मेरो घाँटी नराम्ररी निमोठिरहेको थियो ।
आमाले दोस्रो हप्ता मेरो सामुन्ने आएर थचक्क बस्नुभयो । अनि काखमा नानी खेलाउँदै भन्नुभयो, अब तिमीले बिहे गर्नुपर्छ । बोल्न समेत छाडेकी आमाले राखेको प्रस्ताव सुनेर म जिल्ल परेँ । आमाले मेरो घरजम चाहनुभएको रहेछ । रिसको आगोमा जलेपनि आमाको माया त मप्रति बाँकी नै रहेछ । मनमनै समाजलाई नै घृणा गर्न थालेकी म अनामिका आमाको यस प्रस्तावले दुविधामा परेँ ।
मजस्ती अभागी कुमारी आमालाई कुन मुर्ख पुरुषले स्विकार गर्छ ? मैले भनेँ । आमाले भन्नुभयो, तिम्रो बिहेको प्रस्ताव आएको छ । हामीले तिम्रोबारे सबै कुरा बताएका छौँ । उताबाट जवाफ आएको छैन । त्यसैले एक जना राम्रो ज्योतिषकोमा चिना देखाउन जानुपर्ला । आमाले यसरी कुरा गर्नु भएको एक महिना भइसकेको थियो । तर उताबाट जवाफ आइसकेको छैन र आउँछ भन्ने विश्वास पनि छैन ।
मलाई आफ्नै घर बिरानो लाग्यो । यतिकैमा मोबाइलमा साथीको फोन बज्यो । आमाले सबै सुनाउन भ्याइसकेछ । फोनमा लामो कुराकानी हुन पाएन । एकजना ज्योतिषको नाम बताएर फोन राखी दिइन् ।
मनमा खुलदुली भइरहेको छ । भोलि ज्योेतिषले के भन्लान्, के सोध्लान्? अनि नानीको बुबाबारे सोधे भने म के जवाफ दिऊँ ? विवाह गर्न उचित हुन्छ वा हुँदैन? स्वार्थी भई बिहे गरे भने भोलि यो छोरीलाई मेरो लोग्नेले आफ्नेै छोरी सरह व्यवहार गलाँ र? मलेशियामा बिताएको विगतले वर्तमान त बिग्रिसक्यो नै, भविष्यलाई पनि बिगार्छ कि बिगार्दैन ?
कथाकारज्यू, मेरो यो दुविधालाई तपाईको अर्को कथामा लेखिदिनुहोला । मनमा लुकेका कुण्ठाहरु तपाईसँग चिया खाँदै बताउने विचार गरेकी छु । अर्को भेटमा मेरो हराएको डायरी पनि लिएर आउनुहोला ।तपाईको उही अनामिका ।