ताजा अपडेट

ट्रेन्डिङ

अनामिकाबारे जानकार हर्षिका

Gyan Khabar

ज्ञानखबर

९ कार्तिक २०८१, शुक्रबार
516 पटक हेरिएको
अनामिकाबारे जानकार हर्षिका

मेरो घरको कौसीमा एउटा काठको मक्किएको कुर्सी छ । कहिलेकाँहि म त्यही कुर्सीमा बस्न मन पराउँछु । हिजो मात्र म त्यही बसेर आकाशमा हेरिरहेको थिएँ । कुर्सीमा बसेर आकाशमा नियाल्दै गर्दा बादलहरु विभिन्न आकारमा चलमलाइरहेका थिए । एउटा अदृश्य शक्तिले बादलहरुमा उर्जा भरिरहेको थियो । हिउँजस्तो देखिने सेता बादलहरु कहिले घोडाको रुप लिन्थे त कहिले विभिन्न जनावरको रुप । अनि कहिले विभिन्न महादेशहरु बन्थे । सुस्त गतिमा चलायमान ती बादलहरुमुनि चराहरु विभिन्न दिशामा उडिरहेका थिए । अनि एउटा बाज अर्जुन दृष्टिमा चराहरुलाई सिकारका लागि निसाना बनाइरहेका थिए । त्यो निलो खुला आकाश प्रकृतिले रचेको सुन्दर क्यानभास थियो, जुन् क्यानभासमा धागो चुडिएर पनि हावाको लयमा उडिरहेका चङ्गाहरु पनि प्रस्टै देखिन्थे ।

प्रकृतिले कोरेको त्यो क्यानभासमा रमाउँदै गर्दा अचानक एउटा काग मेरो टाउकोमाथि पखेटाले हिर्काउँलाझै गरी उड्यो । भित्रबाट आमाले भन्नुभयो , बाबु आज कतै नजानू, तिम्रो दिन राम्रो छैन । आमाको कुरा सुनेर म गललल हाँसे । धेरै दिनपछि बल्ल कौसीमा बस्ने सौभाग्य पाएको कुरा कसरी अशुभ हुन सक्छ?
आकाशमा नियाल्दै गर्दा एउटा सानो हवाइजहाज बादलभित्र पस्यो । अनि केहिबेरमै बादलको अर्को फेदबाट निस्की आकाशको अर्को कुनामा अदृश्य भयो । खुला आकाशमा मानव निर्मित जहाजले बाटो कोरेको प्रष्ट देखिन्थ्यो, जुन क्षण भरमै हरायो।

बगलीमा रहेको फोनमा घण्टी बज्यो, एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा …एउटा साथीको साथले कति फरक पर्दछ जिन्दगीमा…। नारायण गोपालको गीतमा रिङटोन बज्दा मेरो ध्यान मोबाइलमै आकर्षित भयो । एक अपरिचित नम्बरबाट फोन आएको रहेछ । नयाँ नम्बर भएकोले फोन उठाइ हाल्नु उचित लागेन । मलाई मनपर्ने गीत भएकाले मनमनै उही गीत गुनगुनाउन थालेँ ।
फेरि मोबाइलमा घण्टी बज्यो । नउठाइरहन सकिनँ । अनि मोबाइलमा हरियो फोनको चिन्हलाई थिच्दै फोन उठाएँ ।
हेलो, को बोल्नु भयो? मैले भनेँ ।

नमस्कार, हजुर अनामिका कथाको लेखक होइन र ? उताबाट अपरिचित महिला बोल्न थालिन्। नमस्कार, हजुर , केहि भन्नु थियो कि? मेैले बोलेँ ।
म हर्षिका, ती महिला बोलिन् । म शब्द विहिन भएँ । किनकी अनामिका शिर्षकमा लेखेको कथाले दोस्रो चरण पार गरिसकेको थियो । तेस्रो चरण अनामिका आफैले चिठी मार्फत लेखिन् । जसलाई मैले जस्ताको तस्तै पस्केँ । अनामिकाको अनुरोध बमोजिम चौथो चरण लेख्ने मन त थियोे , तर के लेख्ने भनेर सोचमग्न थिएँ । अनामिकाको सबै यथार्थ जस्ताको तस्तै बताउने आँट मसँग थिएन । कारण सम्पूर्ण यथार्थमा म आफैँ अन्जान थिएँ । आफूले अनामिकाबारे देखे सुनेको कुरा न हो लेखेको हो । भावनामा डुब्दै गर्दा फेरि हर्षिकाले प्रतिप्रश्न गरिन्, अनामिकाको कथा सत्य घटनामा आधारित हो र?
मैले हो पनि भन्न सकिनँ र होइन पनि भन्न सकिनँ । हो भनूँ भने प्रश्नको ओइरो लाग्ने निश्चित थियो, जसको जवाफ मसँग थिएन । अनि होइन भनूँ भने अनामिका स्वैरकल्पना होइन । मेरो मौनतालाई चिर्दै उनले फेरि प्रश्न राखिन्, चिया खाने बहानामा भेटौँ न हुन्न? अनामिकाबारे केहि कुरा सोध्ने मन छ ।

मेरो मौनता कमजोरी त होइन , मात्र अन्यौल थियो । मैले भनेँ, हुन्छ नि ।
हर्षिकाले भेट्ने चाँजो पाँजो मिलाइन् । भक्तपुर नगरको दक्षिणमा रहेको अरनिको राजमार्ग छेउको चिया पसलमा बिहानको ७ः३० बजे हाम्रो भेट भयो । म पसल बाहिर राखिएको गोलो टेबुल नजिक काठको मुढामा टुक्रुक्क बसेँ । हर्षिका आइसकेका थिएनन्, सायद आउँदै होलिन् भन्ने लाग्यो। दुई ओटा सेल र तरकारी मगाएँ । तरकारी खाँदै गर्दा मनमा खुलदुली भइरहेको थियो । हर्षिका भन्ने नयाँ पात्रसँग म आफैँ परिचित थिइनँ । उनी अनामिकाको साथी पनि हुन सक्थ्यो, वा अनामिका कथाको पाठक । आफूलाई कथाकारको रुपमा सशक्त पाठकसँग प्रत्यक्ष भेटघाट गरेको अनुभव मसँग थिएन । न त अनामिकासँगै प्रत्यक्ष वार्तालाप गरेको छु ।

हस्याङ फस्याङ गर्दै एउटी दुुब्ली पातली युवती मेरो सामुन्ने आएर उभिइन् । अघि फोनमा कुरा गर्ने हर्षिका अधबैँसे महिला नभएर २८÷२९ वर्षकी युवती रहिछन् । ५ फिट २ इन्च अग्ली गोरी युवतीले कालो जिन्स पाइन्ट र सेतो सर्ट लगाएकी थिइन् । नामझै उनको मुहार हँसिलो थियो । अनि नाकैमा रहेको कालो कोठीले उनी झन राम्री देखिन्थिन् । हड्बडाउँदै उनले भनिन्, तपाई नै अनामिकाको लेखक होइन र? मैले फेरि मुन्टो हल्लाएर हो भनेँ । मैले अर्को चिया मगाएँ । स्थितिलाई सामान्य बनाउँदै मैले उनको पूरा परिचय मागेँ । उनले भनिन् , म हर्षिका तामाङ । सिन्धुपाल्चोकबाट बसाइ सरी भक्तपुरको सुर्यविनायकमा डेरा गरी बसिरहेको छु ।

मैले अनायासमै सोधेँ, मलाई कसरी चिन्नुभयो त? उनले सहजै भनिन्, हजुरलाई पहिलेदेखि चिन्थेँ । भर्खर कलेज जाने भाइले बरु नचिन्न सक्छ । म झन अन्यौलमा परेँ । मैले भनेँ, खोइ मैले त चिन्नै सकिनँ । हर्षिकाले थपिन्, म तिम्रो घरको नजिकै डेरामा बस्छु । अघिसम्म तपाई भनेर सम्बोधन गर्ने महिला त छिमेकी पो रहेछ । उनले सोधिन्, अनामिकाको जीवनमा पछि के भयो भन्ने जान्ने मन भएर बुझ्न आएको? मलाई त अनामिका सत्य कथाजस्तो लाग्छ। किन अनामिकाको बारे खुलेर नलेख्नु भएको ?

म शब्दविहिन थिएँ । अनि सानो स्वरमा भनेँ, चलचित्रमा सबै कुरा खोलिन्छ र? चलचित्रको दोस्रो भाग त बाँकी नै छ ।
उनले हाँसेरै भनिन्, भाइ त कुरा लुकाउन खप्पिस रहेछ ।यति त भनिदेऊ, अनामिका कसरी गर्भवती भइन् ? जुन् कुरा म आफैँलाई थाहा थिएन, बताउने कुरै भएन । मैले चुप लाग्नुमा नै श्रेयस्कर ठानेँ ।
उनले भनिन्, मलाई थाहा छ, अनामिका कसरी गर्भवती भइन् । अनामिकाले मलाई नचिने पनि म उनलाई मलेसियामा आएदेखि नै चिन्थेँ । म छक्क परेँ । म लेखकलाई भन्दा पाठकलाई मेरो पात्रबारे ज्ञान कसरी हुन सक्छ? मेरो अहम हराएर गयो । अनि आफूलाई पाठक बनाएर सोधेँ, भन्नुस् न त त्यो गुह्य कुरा । उनले भन्नै मानिनन् ।

कुरालाई मोड्दै उनले मलेसियामा बस्दा यसबारे सुनेको बताइन् ।  मलेसियामा काम कतिको सजिलो छ त? मैले सोधेँ । कामअनुसार हुन्छ , उनले भनिन् । उनले मलेसियामा सन् २०२० मा करिब ३८०००० नेपालीहरु कानूनी रुपमा रोजगारीमा रहेको बताइन् । धेरैजसो नेपालीहरु उत्पादनमूलक उद्योगमा कार्यरत रहेको बताइन् । उनका अनुसार इन्डोनेसियापछि नेपाल सबैभन्दा बढी श्रम मजदुर पठाउने देश रहेछ ।

कुन कुन क्षेत्रमा नेपालीहरु काम गर्छन् त? भन्ने प्रश्नमा उनले ससाना रेस्टुरेन्ट, होटल र कलकारखानाहरुमा नेपालीहरु कार्यरत रहेको बताइन् । पछिल्लो समय नेपालीहरुलाई भन्दा स्थानिय श्रमलाई नै प्राथमिकता दिइएको कारण मलेसियन सरकारले विदेशी कामदारलाई कम लिन थालेको उनले बताइन् । हो र? मैले भनेँ । कुरै कुरामा लगभग पचास हजार नेपाली कामदार अवैधे रुपमा काम गरिरहेको उनको भनाइ थियो ।
अनि अनामिका नि? मैले सोधेँ ।  उनी पनि अबैध रुपमा आएको जस्तो लाग्छ । करिब ५०० जना नेपालीहरुलाई कानूनी कारवाही भइसकेको उनले बताइन् । सबै जानकारी राख्नुभएको रहेछ । कसरी थाहा पाउनु भयो सबैकुरा? मेरो प्रश्न सेलाउन नपाउँदै उनले भनिन्, ७३ वटा नेपाली संगठनहरु नेपालीहरु हकहितका लागि मलेसियामा कार्यरत छन् भन्ने सुनेको छु ।

मलेसियामा अनामिकालाई भेट्नु भयो त? उनले भनिन्, म पनि जोहोरमै होटलमा काम गर्थेँ । कहिलेकाँहि भेट हुन्थ्यो । उनी अलि सोझी खालकी थिइन्, कसैलाई नबोल्ने भएकाले उनको समस्या अरु नेपालीहरुले ढिला थाहा पाए । थाहा पाउँदा उनी नेपाल पुगिसकेकी थिइन् ।
के भएको रहेछ त? मैले जान्ने इच्छा जाहेर गरेँ । उनले भनिन्, काठमाण्डौँमा बसेर विदेशको कुरा गर्नेलाई बुझाउन गा¥हो छ । मैले बुझ्न सकिनँ र फेरि सोधेँ , मैले त कुरा बुझिनँ ।
काठमाण्डौँमा बसेर गफ चुटेजस्तो कहाँ हुन्छ त? नेपालीहरुमाथि हुने श्रम शोषणको विरोध रत्नपार्कमा टायर बालेजस्तो कहाँ सजिलो छ र? आधारभूत अधिकार त प्रत्याभूत नहुने ठाउँमा मानव अधिकारको के आशा गर्ने?

मैले आँकलन गरेँ, अनामिकामाथि पनि त्यस्तो कुनै दुव्र्यहार भएको हुनुपर्छ । जुन् कुरा अनामिकाले खुलाउन सकेकी छैनन् वा खुलाउन चाहिनन् । अनामिकाको साहू कस्ता थिए नि? मलाई जान्न मन लाग्यो । हर्षिकाले भनिन्, एकदम सौखिन् खाले थिए । हेर्दा इमान्दार र असल देखिएतापनि जोहोरको रात्रीकालीन समयमा रेड लाइट यरियामा देखिने गरेको साथीहरु बताउँछन् । तर त्यस्तो नराम्रो स्वभावको चैँ थिएन।

अनामिका कसरी गर्भवती भइन् त? मैले मूल प्रश्न अगाडि राखेँ । जवाफ दिन खोज्दै थिइन् । त्यही बेला उनको मोबाइलमा कसैको फोन आयो । उनी फोनमा व्यस्त भइन् । टेबुलको चिया सेलाइसकेको थियो ।

मोबाइलमा समय हेरेँ, गफ चलेको आधी घण्टा भइसकेछ । फोन राख्दै हर्षिकाले हर्षित मुद्रामा भनिन् म अर्को पटक चिया खान घरमै बोलाउँला । नजिकै त हो नि मेरो डेरा । म पनि अस्ति मात्रै मलेसियाबाट फर्केको । मेरो एक महिनाको छुट्टी छ । अर्को भेटमा खाजा खाँदै सबै कुरा बताउँला । तपाईको प्रस्तुती शैली राम्रो लाग्यो । पछि भेटौँ न, हुन्न?
ममा अनामिकाबारे जान्ने चाहना झन बढ्न थाल्यो । चियाको पैसा तिरेर हर्षिका आफ्नो गन्तव्य लागिन् । म हेरेको हे¥यै भएँ । अपूरो कथा लेखेकोमा मन खिन्न भयो । किनकी मैले अनामिकासँग प्रत्यक्ष कुराकानी गरेके छैन ।

साँझ मैले हर्षिकाको नम्बरमा डायल गरेँ । मोबाइलमा आवाज आयो, माफ गर्नुहोला तपाईले डायल गरेको नम्बर अहिले सम्पर्क हुन सकेन । कृपया पुनः प्रयास गर्नुहोला? चार पाँच पटक प्रयास गरेँ । सम्पक हुनै सकेन । वास्तवमा अनामिका कसरी गर्भवती भइन् त?